चर्को ब्याजदरको विरोधमा ¥याली

कार्तिक २३, २०७९


तुलसीपुर, २३ कात्तिक ।

तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा विरोध ¥याली निकालेको छ । बैंक तथा वित्तिय संस्थाहरुबाट अत्यधिक रुपमा गरिएको ब्याजदर बृद्धिको विरोधमा वाणिज्य संघले विरोध ¥याली निकालेको हो । व्यापारीहरुले धितो लिलामी प्रक्रिया स्थगित गर, उच्च सेवा शुल्क बन्द गर, उद्योग व्यापार नबचे अर्थतन्त्र बच्दैन, मनपरी प्रिमियम बन्द गर, ब्याज दरमा स्थिरता देउ लगायतका प्लेकार्ड बोकेका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघको प्राङगनबाट सुरु भएको विरोध ¥याली जेसिज चोक, (ग) लाईन हुँदै नेपाल बैंक लिमिटेड अगाडी गएर कोण सभामा परिणत भएको थियो । उक्त अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले बैंकहरुले चर्को रुपमा ब्याज लिँदा व्यापारीहरुलाई व्यवसाय गर्न समेत समस्या भएकाले विरोधको कार्यक्रम आयोजना गरेको बताए । व्यवसायीहरुले तुलसीपुर क्षेत्रमा रहेका दुई वटा सरकारी बैंकहरुमा धर्ना दिएका थिए भने अन्य नीजि बैंकहरुमा प्लेकार्ड राखेका थिए ।