एमालेको घरदैलो अभियान तिव्र, ठाउँठाउँमा भव्य स्वागत

कार्तिक २३, २०७९


तुलसीपुर, २३ कार्तिक ।

नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकीदै गर्दा उम्मेदवारहरूले जनताको घरघरमा पुगेर आफ्नो पक्षमा मत माग्दै हिँडेका छन् । दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओली र प्रदेश(१)का उम्मेदवार घनश्याम पाण्डेले जनताको घरघरमा पुगेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ ।

मतमाग्दै घरदैलोमा पुग्नु भएका ओलीले र पाण्डेलाई जनताले फूलमाला र टिकाले भव्य स्वागत गर्दै विजयको अग्रिम शुभाकाना दिएका छन् । उम्मेदवारद्वय ओली र पाण्डेले तुलसीपुर, ३, १२, १३, १४, १५ र ६ नम्बर वडामा पुगेर जनतासँग भोट माग्नु भएको छ । भोट माग्ने क्रममा कतिपय स्थानमा जनताले नेताहरू पछिल्लो समय ढाँट बन्दै गएको बताउँदै जनताको समस्या र पीडालाई बुझ्न सक्ने व्यक्ति मात्र लोकप्रिय बन्न सक्ने बताएका थिए । कतिपय नेताहरू जितेर गएपछि चुनाव नआउँदासम्म फर्केर नआउने गरेको गुनासो गर्दै उनीहरूले विकास लिएर गाउँगाउँमा, जनताको घरघरमा आउने नेता सधै स्मरण योग्य हुने बताएका थिए ।