आफू मतदान गर्न सक्षम हुँदाहुँदै बहाना बनाएर अरुमार्फत् मत हाले कारबाही हुने

कार्तिक २४, २०७९


काठमाण्डौ, २४ कात्तिक । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ । अशक्त भएकाहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन उहाँले निर्वाचन अधिकृतलाई निर्देशन दिनुभएको हो । गएको पालिका चुनावमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका अथवा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्दा भनेअनुसार मतदान नभएको गुनासो आएको भन्दै उहाँले त्यसप्रति चनाखो हुन आग्रह गर्नुभएको हो ।

उहाँले मतदानको सन्दर्भमा आफू अशक्त भएको बहाना बनाइ पक्षधर व्यक्तिलाई मतदान गर्न दिनु गम्भीर प्रकृतिको कसुर भएकाले त्यसो नगर्न पनि सचेत गराउनुभयो । उहाँले यदि कुनै मतदाताले आफू मतदान गर्न सक्षम हुँदाहुँदै विभिन्न बहाना बनाएर अरुमार्फत् मतदान गराउने किसिमको कार्य गरेमा निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही हुने पनि चेतावनी दिनुभयो । यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियालाई समावेशी, लैङ्गिक एवम् अपाङ्गतामैत्री बनाउने कुरामा ध्यान दिन पनि सम्बन्धित प्रमुख निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।