तुलसीपुर उद्योग वाणिज्यसंघको धारणाः अव नो मेला

कार्तिक २७, २०७९


तुलसीपुर, २७ कात्तिक ।

 मुलुकमा आर्थिक अवस्था धरासायी भएको अवस्थामा पनि मेला महोत्सवका नाममा केहि क्लवहरु क्रियाशिल भएको देखिएकाले यो समय मेला महोत्सवकालागि उपयुक्त नभएको तुलसीपुर उद्योग वाणिज्य संघको निष्कर्ष छ । तुलसीपुर उद्योग वाणिज्य संघको आइतवार बसेको बैठकले नो मेलाको अवधारणालाई अनुमोदन गरेको छ । मेला महोत्सवका कारण आन्तरीक लाभको अवस्था केहि पनि नहुने तथा मेला महोत्सवका नाममा स्थानिय बजारको पैसा वाहिरिएर थप आर्थिक समस्या हुने भएकाले मेला महोत्सव अस्वीकार्य भएको पनि बैठकको निस्कर्ष रहेको छ ।

मेला महोत्सवमा स्थानिय व्यवसायीहरुको उन्नती नहुने र वाहिरका व्यवसायीहरुले पैसा लैजाने अवस्था रहेको पनि बैठकमा सुझाव दिइएको थियो । बैठकको सल्लाह र सुझाव एवं आम व्यवसायीहरुको हितमा मेला महोत्सव नरहने भन्दै पैसा वाहिर जान दिने मेला महोत्सव नलगाउन तुलसीपुर उद्योग वाणिज्य संघ सधै सचेत रहने पनि बैठक पछि जारी विज्ञप्तीमा जनाइएको छ । ‘उदेश्य विहिन मेलामा यहांका व्यवसायीहरु सहमत हुन सक्दैनन्, त्यसको हामीले जोडदार प्रतिकार र प्रतिवाद गर्न चाहन्छौं’, तुलसीपुर उद्योग वाणिज्य संघले आइतवार जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जाडो मौसम सुरु हुनासाथ मेला महोत्सवका नाममा वाहिरी व्यवसायीहरु आएर यहांका व्यवसायीहरुलाइ धरासायी बनाउने प्रबृत्तिको अन्त गर्न अव देखि मेला महोत्सव नलगाउने पनि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्ला केहि दिनमा मेला महोत्सव आयोजना नहुने बताएका छन् । ‘अहिले मेला महोत्सव आयोजना गर्ने उपयुक्त समय होइन, मुलुक निर्वाचनको माहौलमा होमिएका वेला हामीले तत्काल मेला महोत्सवलाइ कुनै पनि संघसंस्थालाइ स्वीकृति दिने छैनौं’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । मुलुकको अर्थतन्त्र निर्वाचनका कारण ओरालो लागीरहेको समयमा मनोरन्जनात्मक कार्यक्रमलाइ राज्यले प्रोत्साहन नदिने पनि उनको अभिव्यक्ति थियो ।