पोखरीमा डुबेर तीन बालकको मृत्यु

कार्तिक २८, २०७९


सिरहा, २८ कात्तिक । 

सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षीय छोरा नितेश रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकाले पनि अली र नवीको घटनास्थलमै ज्यान गएको र अर्का बालक नितेशको उपचारका क्रममा अस्पतालमा ज्यान गएको उहाँले बताउनुभएको छ । । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।