शान्तिनगरको जंगलमा चक्कु देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

मङि्सर ०२, २०७९


दाङ,२ मंसिर ।
दाङमा चक्कु देखाएर अटोमा लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २६ वर्षीय गोविन्द केसी र तुलसीपुर ५ बसपार्क निवासी १९ वर्षीय आषिश परियार रहेका छन् ।

गएराती पौने १० बजेको समयमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ रानीबनको जंगलमा तुलसीपुरदेखि जुम्लेकुलातर्फ जाँदै गरेको भे १ ह ५४४३ नम्बरको अटोलाई नियन्त्रणमा लिई चालकको साथबाट नगद २ हजार ९२० र मोबाईल लिएर भाग्दै गरेको अवस्थामा शान्तिनगर मतदान केन्द्रमा खटिएका प्रहरी निरिक्षक सौजन डाँगीसहित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लुटिएको सबै सामान फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।