लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

पुष १७, २०७९


पुस १७, लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरी स्थित नव निर्मित प्रदेश सभा भवनमा सांसदहरुले शपथ लिएका हुन् । ८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४ र ४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्र ३ र ३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकरएक जना सांसद रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार सुरु हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आहृवान गरिएको प्रदेश सभा सचिव दुर्लभ पुनले बताए ।