लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु

पुष १८, २०७९


पुस १८, लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा आज बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव पुनले बताए । लुम्बिनी प्रदेश सभामा यसपटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।