अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने

पुष २१, २०७९


पुष २१, सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो । लिङ्देन उपप्रधानमन्त्री सहित सरकारमा जानेछन् । रवि लामिछाने जस्तै लिङ्देन पनि पहिलो पटकमै उपप्रधानमन्त्री बन्दैछन् । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ ।

वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ । वागमती र गण्डकीमा राप्रपाको मत निर्णायक छ । लिङ्देनसँगै महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् । जुम्लाबाट निर्वाचित भएका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ जना सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेक अरूबाट मन्त्री बन्ने सम्भावना छ । समानुपातिकबाट बुद्धिमान तामाङको सम्भावना छ ।