मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो

फागुन ०४, २०७९


फागुन ४, मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज बिहीबार देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । यस्तै, २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि छुट्याएको कम्पनीले बताएको छ ।

सर्वसाधारणका लागि भने कम्पनीले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर वितरण गरेको हो । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । उक्त आइपिओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन १८ गतेसम्म लम्बिने कम्पनीको भनाइ छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ डबल बीु रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।