सर्वोच्चले क्षेत्राधिकार मिचेको भन्दै माओवादी घटकहरूले संघर्ष गर्ने

फागुन २६, २०७९


फागुन २६, द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका दलहरूको बैठकले सडक संघर्षमा जाने सम्मको तयारी गर्ने निर्णय गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता जागृत रायमाझीले सेतोपाटीलाई बताए ।

फागुन २८ गते १ बजे संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने र ३० गते सर्वोच्च अदालतको पछिल्ला गतिविधिबारे अन्तरक्रिया गर्ने निर्णय भएको छ, रायमाझीले भने,हामी आवश्यक परेमा सडक संघर्षमा जानुपर्छ भन्नेमा छौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष लकर्णजित बुढाथोकीले शान्ति, स्थिरता हुँदै विकासको बाटोमा अगाडि बढेको बेलामा त्यसलाई रोक्ने प्रयास भएको बताए ।

कुन पार्टीको कुनै नेता सरकारमा छ त्यो फरक कुरा हो । सडक संघर्ष गर्ने पार्टीले हो । जनता र कार्यकर्ता सत्तासँग छैनन्, उनले भने, सिंगो माओवादी आन्दोलनका उपलब्धिलाई कमजोर बनाउन सर्वोच्च अदालतले आफ्नो अधिकारभन्दा बाहिर गइरहेको छ। यसकाविरूद्ध हामीले शक्ति प्रदर्शन गर्न जरूरी छ । अहिले सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध रिट दर्ता भएको छ।

दश वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मानिस मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने भन्दै प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गर्नुपर्ने मागसहित रिट परेको हो । उक्त रिटमाथि आज शुक्रबार सुनुवाइ हुँदैछ ।