दुई-चार दिनमै सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री चौधरी

बैशाख २६, २०८०


वैशाख २६, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको दुई\चार दिनमै सरकारले पूर्णता पाउने बताएका छन् । तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको बताए । छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती उनको सरकारलाई छ ।

अहिले परिस्थिति त्यस्तै बनिदियो र सुदूरपश्चिममा पनि ढिलाइ भइरहेको छ, उनले भने, सुदूरपश्चिम र यहाँ सँगैसँगै सरकारलाई पूर्णता दिने तयारी छ । वैशाख १२ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिनाविभागीय मन्त्रीको रूपमा सपथ खुवाएका थिए ।

बिना विभागीय भनिए पनि मन्त्री मास्कीलाई माओवादीका नेता, कार्यकर्ता तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् अर्थमन्त्री बन्न सफल भएको भन्दै धमाधम बधाई दिइरहेको छन् । अब कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय पाउने सहमति भएको बताइन्छ । यसअघि नै साना दलहरूबाट दुई मन्त्री नियुक्त भइसकेका छन् । चौधरी आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । समर्थन गरेका अन्य दलहरूले पनि मन्त्रिमण्डलमा भाग खोजे सरकार टिकाइराख्न मन्त्रालयको संख्या थप्न चौधरी बाध्य हुने छन् ।