मगर समुदायको पहिचान भूमे पर्व तथा वलपूजा

जेठ ३२, २०८०     नारायण ओली


               बल पूजा अर्थात भूमे पूजा मगर समुदायको चर्चित र महत्त्वपूर्ण पर्व हो । जहा जेष्ठ मसान्तमा धूमधामसँग सुरु गरेर ७ दिनसम्म मनाइन्छ। भूमे पूजालाई नेपाली भाषीहरूले बलपूजा भन्ने गर्दछन । खाम भाषा बोलिने क्षेत्रमा यसलाई भूमे पूजा भनिन्छ । भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो । भूमी भनेको जमिन जमिन भनेको प्रकृति हो। यो समुदाय प्रकृति पूजक हो । खाम क्षेत्रका मगर समुदायहरुले देवी देउताको भन्दा धेरै आफ्ना पुर्खा र प्रकृतिको पूजा बढी गर्ने गर्दछन । यस समुदायमा विशेष महत्त्वका साथ भूमी बराहा, सिद्ध बराहा,सिमे बराहा,पितर पूजा आदि पूजा गर्ने गरिन्छ। हरेक वर्ष वर्षा ऋतु सुरु हुनु भन्दा पहिले दिउदे बाली भित्य्राएर बर्षे बाली लगाइसकेपछि मनाइने पर्वमा प्रकृतिको पूजा गरिन्छ। वर्षभरि गरेका कामहरुको समिक्षा र थकान मेटाउने उत्सवको रुपमा मनाइन्छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न,खेतीपातीको वृद्धि बिकासको कामना गर्न भूमी माताको भूमे थानमा गएर पूजा गरि करिब १ हप्तासम्म भूमे नाँच लगाएर मनाइन्छ । भूमे पूजाको अवसर पारि हरेक गाउँहरुमा साना साना मेला लागाउने गरिन्छ । त्यसकारण यस पर्वलाई भूमे मेलाको रुपमा मनाउने चलन पनि छ । हिउदे बाली भित्र्याइसकेपछि पूजा प्रारम्भ हुने हुदा यसलाई अन्न जोगाउन पूजाकोरुमा प्रकृतिलाई पूजा गर्ने चलन छ । खेतीपाती गर्दा कीरा-फट्यांग्रा मरेका हुन्छन, खेतीयोग्य जमिनको नाश भएको हुन्छ,हल बल्लो (गोरु)लाई दुख दिइएको हुन्छ, बल्लोको काँधमा घाँउ हुन सक्छ , सबै कर्मबाट भएका गल्तीप्रति क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना गरिन्छ। बर्षे बालीनालीमा कीरा फटयांग्रा नलागुन, बाढी-पहिरोले नोक्सान नपुर्‍याओस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ। असार १ गते सुरु हुने भूमे पर्व विगतका दिनहरूमा पहाडी जिल्ला विशेष गरि रुकुम,रोल्पा र बाग्लुङमा एक महिनासम्म मनाउने चलन थियो। अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ। पूर्खाहरुले मनाइँदै आएको पर्व मगर समुदायले सहायक पर्वको रुपमा मानाइन्छ। पूर्खाहरुले जंगल खनेर खेतीपाती गर्न थालेपछि यो पर्व मनाउन थालिएको हो।

            यस पर्वलाई गाउँ व्यवस्थाको प्रचलन अनुसार वर्षभरिको आय-व्यय प्रस्तुत गरि नयाँ पदाधिकारी छनौट र नयाँ घरधुरी कायमको वैधानिकता दिने विशेष दिनको रुपमा पनि लिइन्छ । भूम्या पूजाको अवसरमा बोका, हाँस, कुखुरा, सुँगुँरको बल बनाई तानिन्छ । जसमा अनौठो कुरा के छ भने नि बर्ष भरी भन्साको भारमा जम्मा भएको धैसोलाई सबै घरका घरमुलीहरुले बल तान्ने मान्छेहरु हिडेको बाटोमा फाल्दै जाने चलन छ । यसो गर्दा अनिकाल र अनिष्ट हुनबाट भूमे देवताले बचाउछन भन्ने बिश्वास रहिआएको पाइन्छ। उक्त बललाई खेत बारीको थानमा लगी बली दिइन्छ । बारीमा दिइएको बलीलाई गाउँमा जति घरधुरी छन् त्यति भाग लगाइन्छ । यदि कोही व्यक्ति (दाजु भाई) अंशबण्डा भई छुट्टिएमा सोही दिन उसको नाममा भाग लाग्छ । बल पूजाको प्रसाद भाग पाएपछि उसले वैधानिक रुपमा छुट्टै घरधुरीको मान्यता पाउँछ । भूमे पर्वको अवसर पारेर एक वर्ष पुराना परम्परागत गाउँले समितिहरुलाई भंग पुनर्गठन गरिन्छ । जस्तै खरदरी समिति, वन समिति अादिका पदाधिकारीहरु चयन गरि बैधानिक दिने प्रचलन छ । जस्तै मुख्या, बैदार, तहबिल, कटुवाल र मिजार एक वर्षका लागि मनोनयन गर्दै हरेक वर्ष खरदरी लगायत अन्य समितिहरुको विघटन र पुनर्गठन गर्ने गरिन्छ ।

भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छने गर्दछन। वर्षभरि अन्य पहिरन लगाउने मानिसहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान बोकेको पटुकी, फेटा लगाउँने गर्दछन। मगर समुदायका महिला, पुरूष तथा बालबालिहरुले आफ्नो परम्परागत भेषभूषामा सजिन्छन ।

महिलाहरु लुङ्गी, चोली, गादा, धरो, पछ्यौरी, खुडाप र व्हाफा तथा गरगहनाहरु मारुली,तिलहरी,बुँलाकी,खोकड,नागी,मुन्द्री,फुली,टिकुली र चुरापोतेमा सजिन्छन भने परुषहरु भाँग्रा,चौबन्दी,पगरी,छड्के, र पटुका तथा गहनाहरु विरजुली,मुन्द्रा र टोपीमा चिटिक्क सजिएका हुन्छन् । युवाहरुले त झन खुट्टाका पाउमा पुरानो लोक बाजा पैजन लगाएर छङ छङ ताल दिदै नाचिन्छ । मगर समुदायका युवायुवतीदेखि वृद्धवृद्धासम्म एउटै थलोमा लहर मिलाएर एकैसाथ नाचिन्छ। नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम लागू हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ । नाच्दानाच्दै खाम भाषामा दोहोरी सुरु हुन्छ । दोहोरीबाट सुख दुख र माया प्रेमका सौगातहरु पस्किने गरिन्छ । कसैले गत वर्ष भेटेका दिनहरु सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन भने कसैले प्रकृति,अन्न-पानी र बिपतका कुरा गर्ने गर्दछन।महिलाहरुले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ । पुरुषहरुले भने वनका प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ। खाम भाषामा वन प्याजलाई ‘नो’ भनिन्छ। त्यसैले खाम भाषामा ‘नोको बाङे नाच’ पनि भनिन्छ । भूमे नाँचमा विभिन्न गीतका भाका र संगीतका ताल (ढोलक, टेम्के, पैसरी, दमाहा, सनाई, झ्याली) को माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ । परापूर्वकाल देखि नै बाजागाजा बजाउने दमाई जातिले नै बाजा बजाउनुपर्ने हुन्छ । असार १ गते बल तानेर भूमे थानमा बली चढाएपछि मात्र भूमे नाचलाई समापन गरिन्छ । अन्तिममा फुकाउने वा दान झार्ने चलन हुन्छ । जसमा बाजा बजाउनेहरुलाई नाच्नेहरुले दक्षिणा दिएपछि भूमे नाच समापन हुन्छ ।

भूमे नाच्ने युवाहरुले गलामा चाँदीका सिक्काले बनेका माला,पोते,तिलहरी र मगर पोशाकमा सजिएर कम्मरमा खुकुरी, दहिमा मुछेको सेतो टीका र सेतो पगरीमा लगाएका हुन्छन । महिला र पुरुष दूबै मिलेर नाचगान गरी बडो रोचकतापूर्वक पर्व मनाउने चलन छ ।

लेखक भूमे गाउँपालिका रुकुम पुर्वमा पशु सेवा शाखामा कार्यरत छन् ।