अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डलु र देउवाबिच भेटवार्ता

असार २९, २०८०


असार २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न सहायक विदेशमन्त्री लु निवास धुम्बाराही पुगेका थिए ।

सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको उल्लेख गरेका छन् । नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ । देउवाले ट्वीट गर्दै भेटवार्ताबारे जानकारी दिएका हुन् ।

नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रबर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गरेका छन्। अमेरिकी सहायक विदेश मन्त्री लु शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनले राजनीतिक भेटघाट गरिरहेका छन् ।