सरकारले बनेपाको वनमा फिल्म स्टुडियो निर्माण गर्न दिने

असार २९, २०८०


नेपाल सरकारले फिल्म छायांकनका लागि काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका वडा नं.१० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा स्टुडियो निर्माण गर्न दिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बाहुनडाँडा वनको ५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराइन् ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा। प्रकाशशरण महतले बनेपामा स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइने घोषणा गरेका थिए । अघिल्लो सरकारले ल्याएको बजेटमा पनि बनेपामा स्टुडियो निर्माण गर्ने कुरा उल्लेख थियो । तर, त्यो बजेटमा मात्रै सीमित रह्यो ।

स्टुडियो निर्माणका लागि छुट्याएको बजेटको बारेमा भने न सरकार न चलचित्र विकास बोर्डले जानकारी गराएको छ । यो स्टुडियो निर्माणका लागि २० करोड बढी लागत लाग्ने अनुमान गरिएको छ । तर, आर्थिक वर्ष २०८०र८१ मा सरकारबाट चलचित्र विकास बोर्डलाई ४ करोड ४५ लाख रुपैयाँ मात्र प्राप्त छ । यसरी हेर्दा स्टुडियो निर्माण हुन अझै धेरै सरकारको बजेट कुर्नुपर्ने देखिन्छ ।