हेमराज हत्याकाण्डको १३ बर्ष पुरा, अझै पक्राउ परेनन् हत्यारा

साउन ०६, २०८०


साउन ६, तुलसीपुर एफएमका तत्कालिन अध्यक्ष देविप्रसाद धिताल (हेमराज) को हत्या भएको शनिबार तेह्र वर्ष पुगेको छ । २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर तुलसीपुर सितलपुर सडक खण्ड अन्तरगत तुलसीपुर १२ हेमनगरमा हतियार धारी अज्ञात समुहले लखेटी लखेटी गोली हानेर हत्या गरेको थियो । जतिखेर हेमराज मोटरसाइकलमा सवार थिए । नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा उम्मेदवारी घोषणा गरेका उनी आफ्नै गाविस साबिक उरहरीका नेता कार्यकर्तासंग दिनभर जसो परामर्ष लिएर तुलसीपुरतर्फ फर्किदै थिए ।

गोली हानेपछि उक्त समुह मकै बारी हुँदै पूर्वको ग्वारखोला तर्फ लागेको त्यतिखेर प्रत्यक्षदर्सी स्थानीयले बताएका थिए । सुनियोजित तरियकाले धिताल घर फर्किने बाटो ढुकेर बसेको उक्त अज्ञात हतियार धारी समुहको थियो ? भन्ने बारे अझैं प्रहरी प्रशासनले दोषीको पहिचान गर्न तथा सार्वजनिक गर्न सकेको छैन । जसले गर्दा धितालको हत्या गर्नुको कारण के थियो ? भन्ने सम्म सार्वजनिक हुन सकेको छैन । हत्याराको पहिचान हुन नसक्नु र सार्वजनिक नगरिनुले धिताल परिवारले न्यायको अनुभूति गर्न सकेको छैन ।

तेह्र वर्षदेखि प्रहरी घटना अनुसन्धानकै क्रममा भएको बताउँदै आएको छ । पछिल्लो समय प्रहरी प्रसासनले घटना अनुसन्धानमा आवश्यक चासो नदेखाएको सरोकारवालाहरुको गुनासो छ । रेडियो तुलसीपुर संचालक समितिको अध्यक्ष, राप्ती यातायात समितिको अध्यक्ष, लायन्स क्लव लगायतको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा क्रियासिल धितालको हत्याको कारण जान्न र हत्यामा संलग्न ब्यक्ति छिटो सार्वजनिक हुनुपर्ने आवाज उठ्दै आएपनि अझैं त्यसबारे अन्यौंलता कायमै छ ।

यसैबिच देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय धितालको १३ औं स्मृतिमा माल्यार्पण कार्यक्रम गरेको छ । कार्यक्रममा स्वर्गीय धितालकी आमा, श्रीमती, भाइ, रेडियो तुलसीपुरका अध्यक्ष दिपेन्द्र गिरी लगाएतले धितालको शालिकमा माल्यार्पण गरेका थिए, कार्यक्रममा बोल्दै देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानका उपाध्यक्ष एवं त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमालले लामो समयसम्म पनि सञ्चार उद्यमी जस्तो व्यक्तिको हत्यारा पत्ता नलाग्नु आम नेपालीको लागि पिडा दायिक विषय भएको बताए । उनले यस्ता जघन्य अपराधका घटनाको कारण र त्यसमा संलग्न ब्यक्तिहरु जति हुन्छ छिटो सार्वजनिक गर्न तर्फ राज्य लाग्नु पर्ने बताएका थिए ।

रेडियो तुलसीपुर एमएमका महासचिव एवं प्रतिष्ठानका सचिव महेन्द्र लामिछानेले स्वर्गिय धितालको परिवारको न्यायका लागि बिगतदेखि नै विभिन्न किसिमले जोडदार माग गर्दै आएको हत्यारा सार्वजनिक नगर्दासम्म चुप लागेर नबस्ने बताए । मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय उपसभापति सुशिल बस्नेतले रहस्यमय बन्दै गएको धिताल हत्याकाण्डको अनुसन्धानमा पछिल्लो समय सुरक्षा निकायले मौन बस्नुले थप आशंकाहरु पैदा भएको बताए । त्यसक्रममा मानव सेवा आश्रम तुलसीपुरमा फलफूल तथा खाद्यन्न सामाग्रीहरु वितरणपनि गरिएको थियो । त्यस कार्यक्रमको सहजिकरण शरद रेग्मीले गरेका थिए ।