पूर्व प्रहरी संगठनकाे शुभकामना आदान प्रदान

कार्तिक ०२, २०८०


तुलसीपुर, २ कार्तिक । नेपाल पूर्व प्रहरी संगठन तुलसीपुर कार्यसमिति दाङको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन तुलसीपुरका अध्यक्ष खुशल बहादुर आलेको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर मल्लीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्ली मगरले राष्ट्रसेवक पूर्व प्रहरीहरुले विगतमा राष्ट्र र जनताको लागि महत्वपूर्ण योगदान दिएको बताएका थिए ।

उनले पूर्व प्रहरी संगठनले प्रहरीलाई सहयोग सहकार्य गर्नुपर्ने बताए । उनले पूर्व प्रहरी डेक्स राखेको र पूर्व प्रहरी संगठनिक डेक्स राखेर छुटै कर्मचारी,पूर्व प्रहरी समन्वय अधिकृत समेत तोकेको बताए । उनले आफुहरु सधै पूर्व प्रहरीहरुको साथ र सहयोगमा भएको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी,वडा नं. १२ का वडाध्यक्ष खुसिराम चौधरी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेल, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, समाजशेवी मेघराज केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो भने आजिवन सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो । पूर्व प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्वप्रहरी संगठनमा आबद्ध व्यक्तीहरुलाई छात्रवृति पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विरामी पूर्व प्रहरीहरुलाई आर्थिक सहयोग गरिएको थियो । कार्यक्रमको सहजीकरण पूर्व प्रहरी नायव निरीक्षक होमबहादुर सेरचनले गरेका थिए ।