राष्ट्रियसभा निर्वाचनका लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पुष १६, २०८०


दाङ १६, पुस आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराही उपमहानगरपालिका-१५ स्थीत प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरु अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि दुई सदस्यका लागि निर्वाचन हुनेछ । निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कृपासुर कार्की, लुम्बिनी प्रदेश निर्वाचन कार्यालय प्रमुख लक्ष्मीदत्त कलौनीलगायको उपस्थिति थियो ।