दाङको सामाजिक परिवेशमा बनेको टेलिश्रृंखला ‘डिङ्नो’ को प्रसारण सुरु

माघ १६, २०८०


माघ १६, नयाँ टेलिश्रृंखला डिङ्नोको प्रसारण सुरु भएको छ । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलबाट निर्माण गरिएको डिङ्नोको सोमबार देखी हिमालय टेलिभिजन र ईएच डिजिटल युट्युवमार्फत प्रसारण सुरु भएको छ । टेलिश्रृंखलाको पहिलो भाग सार्वजनिक भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ । धेरैले मौलिक कथामा निर्माण भएको र कथा मनपरेको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

लुम्बिनी प्रदेश दाङको ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिएका छन् । हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर बिभिन्न बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गरेका छौं, निर्देशक बुढाथोकीले भने । हिजोको हराभरा परिवेश भएका गाउँबस्ती आज सुनसान मात्रै होइन कहिलेकाहिँ त मलामी बिहिन पनि बनेको छ । यस्ता कुरालाई केहिहदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौं ।

डिङ्नो प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण भइरहेको छ । डिङ्नोमा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, बिष्णु बुढाथोकी, पुर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ । योगेश काजीको शिर्ष गीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पुर्ण बहादुर गन्धर्वको पटकथा तथा संवाद रहेको छ । यस्तै सन्जिव कार्कीको सहायक निर्देशक, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्माता रहेका छन् । कथा भने कुल्दिप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार ब्यवस्थापन गरेको छ ।