महोत्सवको तेस्रो दिन १० हजारबढी दर्शक

माघ २६, २०८०


तुलसीपुर, २६ माघ । गत बुधवारदेखि तुलसीपुरमा तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को आज तेस्रो दिन १० हजारबढी दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ ।

शुक्रवार चर्चित कलाकार पुस्कल शर्मा, सम्झना रणपाल, विष्णु सिंजाली, टेकराज भण्डारीलगायतका कालाकारहरुले प्रस्तुति राख्नुभएको थियो । महोत्सवमा ३ बजेपछि अपेक्षा गरिएभन्दा बढी दर्शक उपस्थित भएको सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चर्चित कलाकारहरुको प्रस्तुति भएका कारण शुक्रवार अफिस समयपछि दर्शकहरुको उल्लेख्य उपस्थित भयो ।

महोत्सवमा कलाकार पुस्कल शर्माले तिम्रो घरमा नौमति बजाउँदा मलाई लान्छन् जोर शंख फूकेर, मुटु जलाई जलाई, तिम्रो घर मेरो घर, एउटै बनाम् थरलगायतका गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्र्नुभएको थियो । चिसो मौसम र ढल्दै गरेको साँझका बिच पनि गायक शर्माको प्रस्तुतिमा युवादेखि बृद्धसम्मले नाचेर साथ दिएका थिए ।

भोलि शनिवार दर्शकहरुको उपस्थिति आजको तुलनामा ४ गुणा बढ्ने आयोजकको आँकलन छ । मूल आयोजक समितिका एक सदस्यले भन्नुभयो– ‘मेलामा दर्शकको संख्या बढ्दो छ । मौसमले पनि उत्तिकै साथ दिएको छ । त्यसकारण भोलि शनिवार भएको र लोकप्रिय कलाकारहरुको प्रस्तुति पनि रहेकोले दर्शकको भीड बढ्छ ।

शनिवार चर्चित कलाकारहरु कृष्ण रेउले, अर्जुन सापकोटा, सिर्जना खत्री ‘हाउडे माया’, सदिक्षा पोख्रेल तथा डान्सर सरिस्मा वलीलगायतका कलाकारहरुको प्रस्तुति रहने संस्कृतिक संयोजक खत्रीले जानकारी दिनुभयो ।