तुलसीपुर महोत्सव: स्थानीय उत्पादनमा रमाउदै दर्शकहरु

माघ २८, २०८०


माघ २८, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर महोत्सव २०८० गत बुधबारदेखि तुलसीपुरमा जारी छ । तुलसीपुर उपमहानगरपालिका ६ स्थित खुल्ला मैदानमा लागेको महोत्सवमा स्थानीय उत्पादनका विभिन्न स्टलहरु राखिएका छन् ।

सनम बस्नेत रेग्मी तुलसीपुर महोत्सवको अवलोकन गर्न आइन् । तुलसीपुर उपमहानगरपालिका १५ निवासी बस्नेत महोत्सवको प्रचारप्रसार भन्दा भिन्न पाएको बताइन् । थारु समुदायमा प्रचलित हस्तकला पुजा डाली, हटकेस, ढकीया, डेलुवा, चुरी केसले अझै मनमोहक भएको बताइन् । मैले पुजा डाली खरिद गरेको छु, यस्ता खालको सामाग्री पुजापाठ, भान्सा लगायतमा प्रयोग गर्न सजिलो हुन्छ, उनले भनिन् ।

त्यस्तै सनमसंगै आएकी सुनिता चौधरीले भने तरकारी काट्ने औजार चुलेसी खरिद गरेको बताइन् । महोत्सवमा विभिन्न खालका स्टलहरु राखिएका छन् । विभिन्न कृषि समूहले उत्पादन गरेका कृषि उपजहरु, हस्तकलाहरु, दुनाटपरी, खुकुरी, चुलेसी लगायतका घरायसी प्रयोगका सामाग्रीहरु, लत्ताकपडा, शान्ता दिदीको अचार लगायतका सामग्रीहरु राखिएका छन् । साथै बाल उद्यान, चख्रे पिंग र दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जन प्रदान गर्दै आएको छ ।

त्यस्तै मेलाको आर्कषणको रुपमा गौतम बुद्धको मुर्ती समेत राखिएको छ । उक्त मुर्तिमा सेल्फी खिच्नेहरुको भिड हुने गरेको छ । यसैबिच, महोत्सवको पाचौं दिन आइतबार लोक प्रिय गायक खेम सेन्चुरीले ‘अरली काँडैले’, ‘जोरु मादल कहा बज्यो भनेको मगर गाउँमा..’ जाम भो भागेर’, झ्यालमा पर्दा छ’ लगायतका चर्चित गीतहरु गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए । त्यस्तै स्टेज क्वीन भुमिका गिरीले ‘चौली मैलै भो’, लगायतका गितहरु गाएकी थिइन् ।

अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती संगै लाइभ दोहोरी प्रतियोगिता समेत भएको थियो । त्यस्तै भोलि लोक दोहोरीका लोक प्रिय गायक रमेशराज भण्डारी, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पूर्खे बा), गायिका जालुमाया गुरुङ लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने मुल आयोजक समितीले जनाएको छ ।