ज्ञानज्योति स्कुलका विद्यार्थीले अभिभावकलाई खुवाए खाना

फागुन १२, २०८०


दाङ, १२ फागुन । कोपीला भण्डारी कक्षा १२ मा पढ्नुहुन्छ । उहाँले अहिले ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढिरहनुभएको छ । कोपीलाले शनिबार कलेजमै आफुले बनाएका विभिन्न परिकार अभिभावक र शिक्षकलाई खुवाउनुभयो । ‘होटेल क्षेत्रमा केहि गर्छु भनेर पढिरहेको छु ।’ उहाँले भन्नुभयो-‘बेला-बेलामा हुने प्रयोगात्मक कक्षाले ज्ञानमा थप निखारता ल्याउन मद्दत गरेको छ ।’ उहाँले शनिबार ब्राउन सुप, मसरुम सुप, ब्राउनी बनाएको बताउनुभयो ।

विवेक कुँवरले पनि कक्षा १२ मा पढ्नुहुन्छ । होटले म्यानेजमेन्ट पढिरहनुभएका उहाँले स्कुलले आयोजना गरेको ‘फुड फेस्टिवल’ मा विभिन्न परिकार बनाउनुभयो । ‘आफुले सिकेका सिपलाई व्यवहारिकरुपमा प्रयोग गर्ने अवसर मिल्यो ।’ उहाँले भन्नु्भयो-‘यस्तो किसिमको प्रयोगात्मक कक्षाले हामीलाई ज्ञान सिपमा थप मद्दत गरिरहेको छ ।’ आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका विभिन्न परिकारका फुड शिक्षक र अभिभावकलाई खुवाएका छन् ।

ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा तालिमको आयोजना गरिएको हो । कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेको बताउनुभयो । उहाँले होटेलमात्रै नभएर अन्य क्षेत्रमा पनि होटेल म्यानेजमेन्ट पढेका जनशक्तिको माग हुन थालेको बताउनुभयो ।

उहाँले होटल म्यानेजमेन्ट नेपालमा धेरै रोजगारको सम्भाबना भएको क्षेत्र भएकोले नेपालमै आफ्नै परिवेश परिवारमा बसेर काम गर्न सुझाव दिनुभयो । विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताउनुभयो ।

उहाँले होटल म्यानेजमेन्ट पढेपछि विदेशमा जानुपर्छ भन्ने नभएको र नेपालमै प्रशस्त रोजगारीका संभावना हुन थालेको बताउनुभयो । कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताउनुभयो । कक्षा १२ मा अध्यनरत विद्यार्थीले शनिबार प्रयोगात्मक रूपमा विभिन्न फुड्स बनाएर अभिभावक र शिक्षकलाई खुवाएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले होटल म्यानेजमेन्टको अवस्था नेपालमा अझै पनि विस्तृत हुन नसक्दा आम नागरिकको बुझाइ संकुचित भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।