टिकटकमै सीमित तिज !

भदौ २५, २०७८


पछिल्लो समय टिकटक एउटा राम्रो प्लेटफर्म बन्न थालेको छ । सुरुसुरुमा मनोरञ्जनको रूपमा मात्रै प्रयोग गरिएको यो प्लेटफर्म अहिले गीत–संगीत प्रमोसन, प्रतिभा प्रस्फुटन, व्यापार, विज्ञापन, सन्देशमूलक जानकारी र संसारभरी के कुरा ट्रेन्डिङ छ भनेर थाहा पाउने गज्जबको प्लेटफर्म बनेको छ ।

गायिका इन्दिरा जोशी हिजोआज कुन गीत रिलिज भयो भनेर टिकटकबाट थाहा पाइने बताउँछिन् । उनले टिकटकका लागि ‘क्याची’ हुने २० सेकेन्डको गीत बनाउनुपर्ने बाध्यता भइसकेको बताएकी थिइन् । सायद त्यसैले पनि होला, यसको लोकप्रियता हरेक उमेर समूहबीच बढ्दो छ ।

अझ कोरोनाको प्रभावपछि यसको ‘क्रेज’ बढेको देखिएको छ । कोरोना महामारीले लामो समय ‘लकडाउन’का कारण कामविहीन र ‘वर्कफ्रर्म होम’मा रहेकाहरूले पनि टिकटक अकाउन्ट खोलेर यसमा सक्रिय हुन थाले । लकडाउनभन्दा अगाडिको तुलनामा यसको प्रयोग बढेको छ ।

टिकटकमा तिजको माहोलले यसअघि नै छोइसकेको छ । समय सामान्य हुँदो हो त महिला दिदीबहिनीको दर कार्यक्रम एक महिनाअघिदेखि नै सुरु भइसक्थ्यो । साना तथा ठूला पार्टी प्यालेसमा तिज आउनु एक महिनाअघिदेखि नै कहिले कुन महिला समूह त कहिले कुन महिला समूह तिज गीत घन्काउँदै दर कार्यक्रममा व्यस्त हुन्थे ।

तर, कोरोना महामारीले अघिल्लो वर्षदेखि तिजको रौनक भौतिकभन्दा पनि भर्चुअल र विशेषगरी ‘टिकटक’मा सीमित हुन पुगेको छ ।

कोरोनाको समयलाई ध्यानमा राख्दै अहिले आफन्तको घरमै गएर दर खानेभन्दा पनि केही खुम्चिएर आफ्नै घरमा सीमित हुन पुगेको छ । टिकटकमा पनि त्यसको स्वरूप देखिन्छ । करिब दुई सातादेखि टिकटकमा अरूभन्दा पनि तिजका गीतमा रातो, पहेँलो, हरियो साडी र कुर्ता अनि चुरापोतेमा सजिएर महिजा तिज गीतमा छमछमी नाचिरहेका देखिएको छ ।

आम महिलादेखि टिकटकसँगै भिडियोमा जमेका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा अनि रियाशा दाहाललगायत साडी लगाउँदै तिज गीतमा कम्मर मर्काइरहेका छन् ।

कल्पना क्रिस्टी अनुष्का नामको एउटा टिकटक अकाउन्टमा रातो साडीमा सजिएर घरकै भान्छाकोठामा महिला कम्मर मकाइरहेका छन् । भिडियो सुरु हुनेबित्तिकै उनीहरूको परिचयमा लेखिएको छ– सासू, नन्द अनि बुहारी ।

उनीहरू यसै वर्ष तिजका लागि रिलिज भएको नयाँ गीत ‘छम्की दिउँ पानी’मा आफ्नै घरभित्र बसेर कम्मर मर्काइरहेका छन् । क्याप्सनमा ‘हाम्रो पनि आयौ है बनारसी साडी’ भन्दै लेखिएको छ ।

रातो, हरियो धागो र साडीमा सजिएर अस्मिता न्यौपाने २ टिकटक अकाउन्टमा ‘मेरो प्यारो सुनैको गजुरझैँ’ बोलको तिज गीतमा एक महिला छमछमी नाचेको देख्न सकिन्छ ।

मोडल रियाशा दाहाल रातो कुर्ता–सुरुवालमा महिलाबीचमा आफ्ना बुढाको तारिफ गर्दै गरेको व्यंग्यात्मक र हास्यास्पद शैलीको गीतमा अभिनय गर्दै गरेको देख्न सकिन्छ ।

हरियो छड्के तिलहरी, रातो साडी र रातै धागोमा सजिएर ‘मास्टर साहबकी बूढी हो’ गीतमा आँगनमा बसेर कम्मर मर्काउँदै कल्पना दाहाल ८० नामको टिकटक अकाउन्टमा भिडियो अपलोड गरिएको छ ।

आँचल बस्नेत १ नामक टिकटक अकाउन्टमा तीनजना महिला ‘खरी झर्‍यो कि’ गीतमा नाचिरहेको देख्न सकिन्छ ।

अर्कोमा कोठाभित्र दुई दिदीबहिनी रातो साडीमा ‘सोचेझैँ जिन्दगी रै’नछ’ गीतमा नाचिरहेका छन् । क्रिस्टी गौतम नामक अकाउन्टबाट पोस्ट गरिएको सो भिडियोलाई ६०० भन्दा बढीले सेयर गरिसकेका छन् ।

त्यस्तै, अर्को भिडियोमा एकजोडी ‘छम्की दिउँ पानी’ गीतमा मज्जाले कम्मर मर्काइरहेका छन् ।