मध्य भोटेकोसीको आइपिओ बाँडफाँट
कात्तिक १२, मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन आइपिओको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्कासन गरेको आइपिओमा कुल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए ।
आवेदन दिएकामध्य ९५ हजार ७२२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये ८ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले गत असोज २० गतेदेखि २५ गतेसम्म कुल रु ९० करोड बराबरको रु १०० अङ्कित मूल्यका ९० लाख कित्ता सेयर निष्कासन मा ल्याएको थियो ।
बिक्री प्रबन्धकका अनुसार बिक्री खुला गरिएको कुल ९० लाख कित्ता शेयरमध्ये ४ प्रतिशतअर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई, ५ प्रतिशतअर्थात् ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रु ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रहने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल छन् ।
बाँडफाँटको नतिजासम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको बेवसाइट मेरो सेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।







