प्रदेश १ मा नयाँ सरकार गठनको दाबीका लागि दिइयो भोलि १ बजेसम्मको समय

कार्तिक १५, २०७८


कात्तिक १५, प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मको समय दिइएको छ । मुख्यमन्त्री भीम आचार्यले आज दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई मंगलबार १ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए ।

प्रदेश १ मा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा सम्मिलित विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ । उनीहरूले नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीमा दाबी गर्न एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेको नेता राईको दाबीका लागि सांसदहरूको हस्ताक्षर संकलन जारी छ । सम्भव भएसम्म आजै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको जनाइएको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सभामुखसहित, कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जसपाका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । तीमध्ये एमालेका एक सांसद किर्ते मुद्दामा परेपछि फरार छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद भए पुग्छ । विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या छ ।