साहित्यकार परिचयपत्र वितरण हुँदै

मङि्सर ०१, २०७८


नेपाल प्रज्ञा–प्रतिष्ठानले बहुप्रतिक्षित लेखकरसाहित्यकार परिचयपत्र वितरण गर्ने भएको छ । आउँदो आइतबार हुने प्रतिष्ठानको ३६ औं प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले वरिष्ठ साहित्यकारलाई उक्त परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिष्ठानका सदस्य–सचिव प्रा। जगतप्रसाद उपाध्याका अनुसार प्रधानमन्त्रीबाट पूर्वसदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला र पूर्वसदस्य सचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखक साहित्यकार परिचयपत्र वितरणको आरम्भ गरिने कार्यक्रम छ ।

त्यसपछि प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने तयारी रहेको जनाइएको छ । त्यस अवसरमा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटलाई औपचारिकता दिइने भएको छ । वेबसाइटमा अनलाइनबाटै बैठक कक्ष बुकिङ तथा पुस्तक–पत्रिका बिक्रीवितरणको समेत व्यवस्था गरिएको छ ।