सांस्कृतिक संघको केन्द्रीय सदस्यमा राई मनोनित

मङि्सर १६, २०७८


काठमाडौं,
मंसिर १६ ।

गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च)बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चा कमाउनु भएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरू गाउँदै आउनुभएको छ ।

इलामको रोङ गाउँपालिका निवासी राईका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ । उहाँले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट २०७१ सालमा विमोचनसमेत गराउनुभएको थियो । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट पनि विभूषित हुनुभएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरूमा मोहनले स्वर भर्नुभएको छ ।