रामकृष्ण ढकालको नयाँ गीत ‘काली’ सार्वजनिक

साउन १०, २०७९


आफ्नो जीवनमा आधारित फिल्म ‘आशिर्वाद’ गरेयता गायक रामकृष्ण ढकाललाई ठूलो पर्दामा फर्कन समय जुरेको छैन । तर उनी पुन : फिल्ममा ‘कमब्याक’ गर्न चाहन्छन् । आफ्नो पछिल्लो गीत ‘काली’ सार्वजनिक गर्न आयोजित समारोहमा ढकाल फिल्ममा फर्कन उत्साहित सुनिए । २० वर्षपछि अभिनयमा फर्किन इच्छुक देखिएका ढकाल यथार्थवादी कथावस्तु पाए अभिनय गर्न आफू तयार रहेको समेत सुनाए ।

उनी बेलाबखत आफैंले अभिनय गरेका गीतमा चाहिं फिचर्ड भइरहन्छन् । नयाँ गीत ‘काली’ मा उनले नम्रता सापकोटासँग जोडी बाँधेका छन् । सुव्रत आचार्य निर्देशित भिडियोमा नम्रतासँग ढकाल रोमान्टिक पनि देखिएका छन् । फिल्ममा फेरि काम गर्ने सोच त छ । कहिलेकाहीं सोचेको कुरा पनि पुग्दैन । कहिलेकाहीं नसोचेको कुरा पनि पुग्छ, पत्रकार सम्मेलनमा उनले भने, मेरो चाहना यथार्थपरक फिल्ममा काम गर्ने हो । ड्रामाटिकल फिल्मभन्दा पनि यथार्थपरक फिल्ममा काम गर्न मन छ ।

यो सँगै गायक ढकालले आफूले सिर्जना गरेका गीतमा आफैंले अभिनय गर्दा उक्त गीत अझै अब्बल बन्ने समेत बताए । जति गायकले बुझेको हुन्छ कलाकारले गीतको मर्म कमै बुझ्छ, उनी सुनिए, मलाई लाग्छ, अभिनय र गायन नङ र मासुजस्तै हुन् ।