दानाको लागि कच्चा पदार्थ नेपाल परनिर्भर , करको दर घटाउन कुखुरापालक किसानको माग

भदौ ०५, २०७९


काठमाडौंँ , ५ भदौ ।

 कुखुराको मासु र अण्डामा नेपाल आत्मनिर्भर भएपनि छिमेकी देशबाट लुकीछिपी मासु र अण्डा आयात नरोकिँदा नेपाली किसान मर्कामा परेका छन् । दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतलगायतका देशबाट आयात हुन्छ । यसमा लाग्ने करको दर लगायतका कारणले लागत समेत उठाउन नसकिएको किसानहरूको गुनासो छ । नेपाल पोल्ट्री महासङ्घका अनुसार देशभर १५ हजार फार्ममा व्यवसायीक कुखुरा पालन गरिएको छ भने कुखुरा पालनलाई वैकल्पिक व्यवसाय गर्ने किसानको सङ्ख्या ५० हजारभन्दा धेरै छ । यसबाट वार्षिक २ सय ४० अर्ब बराबरको कुखुराको व्यापार हुन्छ । तर दानाको लागि आवश्यक कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यतामा किसान छन् । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले लागत खर्च कम गर्नको लागि सरकारले भन्सार शुल्क घटाउनुपर्ने, साना किसानलाई आयकर कम गर्ने र वर्डफ्लू जस्ता रोगका कारण कुखुरा अन्त्यष्टि गर्नुपर्ने अवस्था आए शुल्क दिनुपर्ने माग गर्नुभयो । कुखुरापालक किसानहरूले हिजोआज मुख्यतः दानाका लागि कच्चापदार्थको अभाव र भारतबाट अवैध रुपमा आउने कुखुरा र अण्डासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । यसका लागि सरकारले अरु देशबाट अवैध कुखुरा नल्याउन प्लान्ट, खाद्य, पशु क्वारेन्टाइन स्थापना गरिएको र सीमा क्षेत्रमा निगरानी पनि गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालको दाबी छ । अरु क्षेत्रमा जस्तै कोरोना महामारीले कुखुराको उत्पादन र बजार व्यवस्थापन पनि थला परेको थियो । तर अरु क्षेत्र गतिशिल भइरहँदा कुखुरा पालक किसान उत्पादन धेरै भए पनि कहाँ बेच्ने भन्ने चिन्तामा छन् । सीआईएनबाट साभार गरिएको हो ।