दाङकी निशाको लङजम्पमा नयाँ रेकर्ड

असोज ०८, २०७९


लक्ष्मण बस्नेत
तुलसीपुर, ८ असोज ।

दाङकी निशा चौधरीले एथलेटिक्स अन्तर्गत लङजम्पमा नयाँ रेकर्ड कायम गरेकी छ्न् । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत दाङको बेल्झुण्डीमा भएको प्रदेश स्तरिय छनोट प्रतियोगितामा उनले १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ प्रतियोगितामा बनाएको ५.४७ मिटरको आफ्नै राष्ट्रिय किर्तिमान ब्रेक गर्दै ५.५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी हुन् ।

तुलसीपुर नगर स्तरको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पहिलो सहभागीता जनाएकी निशाले ट्रयाक तर्फ छोटो दुरिको १००र२०० मिटर दौड र फिल्ड तर्फ लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । बिद्यालय स्तरको सामान्य प्रशिक्षण बाट आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेकी निशाले एक पछि अर्को सफलता हात पार्दै गएकी छिन ।

निशा जिल्ला, प्रदेश हुँदै लङजम्पमा राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकि थिईन । आफ्नै कृतिमानी भंग गर्दै नयाँ रेकर्ड कायम गरेकी निशा गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा लुम्बिनी प्रदेशलाई स्वर्ण पदक दिलाउने तयारीमा छिन् ।