दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

मङि्सर २६, २०७९


मंसिर २६, दाङको तुलसीपुर–१२, टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ सुरु भएको छ । नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चार सय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ, उनले भने, अब नियमित रिफ्युलको कार्य हुनेछ ।

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौंबाट इन्धन बोकेर आउनुपर्थ्यो । सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौंबाटै ल्याउनुपर्ने हुन्थ्यो उनले भने, अब त्यो समस्या हट्नेछ ।

इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ । टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पुर्‍याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले बताए । इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउने समेत प्रमुख श्रेष्ठले बताए ।