लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

पुष १२, २०७९


पुस १२, केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् । दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले ९ सिट जितेको छ ।

एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ, बरालले भने । ८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ । यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना रुकुम पूर्व का सुरुल पुन, रोल्पा-२ का दीपेन्द्रकुमार पुन र नवलपरासीका खड्क बस्नेतले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् । नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

को बन्ला मुख्यमन्त्री

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्नेमा अहिलेसम्म नेतृत्व दाबी गरेका दलहरुले संसदीय दलको नेता चयन गरेका छैनन् । नेकपा एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालले दाबी गरेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । केही दिनभित्रै संसदीय दलको नेता चयन हुने उनले बताए ।

पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने ढकाल संसदीय दलको प्रमुख सचेतक थिए । श्रेष्ठ र आचार्य भने नेकपा विभाजनपछि केही महिना क्रमशः स्वास्थ्य तथा जनसंख्या र आन्तरिक मामिलामन्त्री भएका थिए । वरीयता क्रममा गिरी सिनियर हुन् ।

माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ । महरा पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।