लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

पुष १८, २०७९


पुष १८, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा संस्थापन समूहका डिल्ली चौधरीलाई सर्वसम्मत बनाएको छ । प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले ढिलाइ भएको थियो । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् । दाङ क्षेत्र नम्बर ३ को १ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित चौधरी अहिले पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् ।

उनलाई दलको नेता बनाउन कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका नेताहरू लागेका थिए । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि ४ जना आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र संस्थापनइतरबाट वीरबहादुर राना आकांक्षी थिए । तर आइतबार रज्जाकलाई इतर समूहले आफ्नो पक्षबाट उम्मेदवार बनाउने तयारी गरेपछि दुवै पक्षबाट सर्वसम्मतको प्रयास भएको थियो ।