तुलसीपुर-७ मा राष्ट्रिय परिचयपत्र अभियान सुरु

पुष १८, २०७९


पौष १८, राष्ट्रिय परिचयपत्र पाइने सूचना पाएका ज्येष्ठ नगरिकहरु वडा कार्यालयको प्रांगणमा जम्मा भइसकेका छन् । वडा कार्यालयको सूचनाअनुसार पहिलो एक हप्ताको समय ६० वर्षमाथिका ज्येष्ठ नागरिक र अशक्तहरुका लागि भनिएको छ । वडा सदस्य मानबहादुर राना उनीहरुको कागजात पर्याप्त छन् वा छैनन जानकारी लिने र आवश्यक सल्लाह दिनमा व्यस्त हुनुहुन्छ । तुलसीपुर–७ को वडा कार्यालयको दृश्य हो यो ।

कार्यालयले उपस्थित सेवाग्राहीमध्ये सबैभन्दा ज्येष्ठ नागरिक तुलसीपुर–७ खर्चवाका ८० वर्षीय फत्तेलाल भुसाल र अशक्त ज्येष्ठ नागरिक ७३ वर्षीया नन्नसरी घर्तीको फाराम भरेर राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको थियो । यद्यपि ज्येष्ठ नागरिकहरुलाई भने राष्ट्रिय परिचयपत्रको बारेमा त्यति धेरै जानकारी छैन तर पनि लठ्ठीको भरमा वडा कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन लाइनमा छन् । उनीहरु भन्छन– खै अरु त केही थाहा छैन । अब सरकारले भत्ता दिंदा पनि यो कागज खोज्छ रे, त्यही भएर बनाउन आएका हौं । वडाले परिचयपत्रका लागि फाराम भर्ने काम तीन ठाउँबाट सञ्चालन गरेको छ । व्यवस्थापन अनुकूल र सबै कागजातहरु ठीक भएमा एकजना अपरेटरले दैनिक ४० जनासम्मको फाराम भर्न सकिने विवरण दर्ता अपरेटर सुस्मिता चौधरीले जानकारी दिनुभयो ।

प्राविधिकहरुको सल्लाहका आधारमा वडा कार्यालयले दैनिक १ सय २० जनालाई टोकन वितरण गर्ने योजना बनाएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जि.सी. बताउनहुन्छ । परिचयपत्र आवेदन भर्ने काममा नागरिकहरुलाई सहजताका लागि बस्ने ठाउँ, खानेपानी, शौचालयलगायतको उचित व्यवस्थापन गरिएको र आवेदकलाई दिनभर लाइन बस्नु नपरोस् भनेर ‘टोकन सिस्टम’ लागु गरिएको अध्यक्ष जि.सी.ले जानकारी दिनुभयो । कागजपत्र मिलान गर्न नागरिकलाई झण्झटिलो नहोस् भनेर हरेक दिन पालोअनुसार जनप्रतिनिधि खटाएका छौं । दिनभरि लाइन बस्ने फुर्सद हुँदैन । त्यसलाई मध्यनजर गर्दै बिहान कार्यालय समयमा टोकन वितरण गर्दछौ । त्यसपछि उहाँहरुले आफ्नो पालो आउने बेलासम्म कुर्नुभन्दा अन्य काम गरेर पनि आउन सक्नुहुन्छ । उहाँले भन्नुभयो– ७ नं. भौगोलिक हिसाबले ठूला वडाहरुमध्येमा पर्छ ।

यो वडामा १२ हजारबढी जनसंख्या छ । वडाबाट वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र वितरण अभियानबाट सात हजारबढीले आवेदन भर्ने आँकलन गरेका छौं । त्यसका लागि हामीले यो कामलाई करिब दुई महिना सञ्चालन गर्नुपर्ने देखिन्छ । हाल परिचयपत्र वितरण तुलसीपुर–७ का नागरिकका लागि भए पनि अत्यावश्यक भएमा अन्य जिल्ला, पालिका वा वडाका नागरिकहरुलाई पनि फाराम भर्न सहयोग गरिने अध्यक्ष जिसीले बताउनुभयो । परिचयपत्र वितरणको पहिलो दिन काम केही ढिला शुरु भएको थियो । जसअनुसार आइतबार ४३ बढीले आवेदन भरेका छन ।