माओवादीले रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने

माघ ०३, २०७९


माघ ३, नेकपा माओवादी केन्द्रले सांसद रेखा शर्मा, सुदन किराती र अमनलाल मोदीलाई मन्त्री बनाउने भएको छ । शर्मा सञ्चार मन्त्री, किराती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् । शर्माले दाङ क्षेत्र नम्बर २ बाट चुनाव जितेकी हुन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् ।

यसअघि उनी दुई पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन् । उनी माओवादीभित्र संसदीय गतिविधिमा समेत अब्बल मानिन्छिन् । माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादी संसदीय राजनीतिमा आएपछि प्रमुख सचेतकसमेत भइसकेकी छिन् ।

साथै पर्यटन मन्त्री बन्न लागेका किराती भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन्। किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए । किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए ।

संघीय मामिला मन्त्री हुन लागेका मोदी मोरङ ५ बाट चुनाव जितेका थिए। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए । माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्ष समेत थिए ।

यसअघि माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन् । माओवादीले क-कसलाई मन्त्री बनाउने भन्नेबारे आज बिहान बालुवाटामार पदाधिकारी बैठक गरी छलफल गरेको थियो ।