बक्स अफिसमा स्टारको हरिबिजोग ?

माघ ०३, २०७९


नेपाली फिल्ममा लगानी गर्ने निर्माताले महंगो पारिश्रमिक कलाकारका लागि किन दिने रु अभिनय औषत गर्ने धेरै कलाकार माथि महंगो लगानी गरेर निर्माताको कन्तविजोग भैरहेको छ । अझ, पात्रमाथि न्याय गर्न भन्दा पनि काम चाडो सक्न लागिपर्ने कलाकारमाथि महंगो लगानीको अर्थ के ? यो बर्ष रिलिज भएका अधिकांश फिल्मको बक्स अफिस रिपोर्टले यही कुरा देखाएको छ ।

बजारमा महंगो पारिश्रमिकको डंका पिट्ने स्टारहरुले दर्शकलाई एक दिन पनि तान्न नसक्नु, के उनीहरुको कमजोरी होइन ?धेरै निर्माता को कलाकार लिदा फिल्म चल्छ भन्ने सोच्न नसक्दा अहिले अलमलमा छन् । धेरै कलाकार फिल्म क्षेत्रमा छन्, तर चल्ने कलाकार औलामा गन्न सकिने छन् । यो बर्ष रिलिज भएका फिल्मको व्यापारिक आँकडाले स्टारहरुको दयनीय क्रेज देखाइदिएको छ ।

३ बर्षपछि पर्दामा फर्किएकी महंगी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज कति कमजोर बनिसकेको रहेछ भन्ने ‘तिम्रो मेरो साथ’ ले पुष्टी गरिदिएको छ । पूजा शर्माका लागि ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नदेखिदा उनले पनि आफ्नो गम्भिर समीक्षा गर्न आवश्यक देखिएको छ ।

बजारमा सर्वाधिक चर्चा भएकी नायिका स्वस्तिमा खड्का ‘चिसो मान्छे’ ले दर्शक तान्न नसक्दा कमजोरी कहाँ भयो भनेर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेकी छिन् । नायक आर्यन सिग्देलले जती गर्दा पनि स्टारडम उठाउन नसकेको तितो यथार्थ भोगिरहेका छन् । प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमालहरुको अनुहार ठूलो पर्दामा बिक्न छाडेको बक्स अफिस आँकडाले देखाइदिएको छ ।

पहिलो दिन फिल्म ‘प्रकाश’ फिल्मले ५ लाख पनि ग्रस कलेक्शन गर्न नसक्नुले नायक प्रदीप खड्काले फन्डाले होइन कामले दर्शकको मन जितिन्छ भन्ने वुझ्नु पर्ने अवस्था आएको छ । हिट ब्रान्ड फिल्मलाई छाड्ने हो भने अनमोल केसीको फिल्म अहिले कती कमाउन सक्छन् भनेर अझै परिक्षा हुन सकेको छैन । पुष्प खड्काको २ वटा फिल्मको असफलताले उनलाई पनि धेरै म्यूजिक भिडियो खेल्न भन्दा रोजेर अभिनय देखाउन सक्नेृ फिल्म खेल्न आवश्यक छ भनेर दर्शकले सन्देश दिएका छन् ।

‘बाबरी’ असफल भएपछि नायक धिरज मगरले अहिले नै ४० लाख पारिश्रमिक माग्ने बेला भएको रहेनछ भनेर वुझे भने उनका लागि भविष्यमा फाइदा नै हुनेछ । बर्षमा एक-दुइवटा फिल्म चलेर अरु फिल्मले पानी पनि भन्न नसक्दा दयाहाङ राई, सौगात मल्ल जस्ता नायकले धमाधम फिल्म साइन गरिरहेका छन् । उनीहरुले पनि पैसा कमाउने बेला यही हो भन्ने सोचेर काम गर्दा दर्शकमाथि अन्याय भएको वुझ्न आवश्यक छ ।

‘सिल्ली फोर’ फिल्म आएको र गएको समेत थाहा नपाउने नायिका केकी अधिकारीले ‘झिंगे दाउ’ मेरै कारणले चलेको हो भन्ने सोचिन् भने त्यो उनको गलत वुझाई हुनेछ । नायिका आँचल शर्माले पनि आफूलाई ठूलो परिक्षामा होम्न बाँकी नै छ । ‘क्याप्टेन, कबड्डी ३ २ नम्बरी’ चल्दा लक्की साबित भएकी नायिका उपासना सिंह ठकुरी माथि दर्शकको मोह चर्चा भए अनुसार रहनेछ भनेर ‘डिसेम्बर फल्स’ ले पुष्टी गरेको छ ।

जेहोस् नेपाली फिल्म क्षेत्रका स्टारहरुको फिल्मले बक्स अफिसमा दयनीय व्यापार गरिरहँदा उनीहरुले आफ्नो क्रेजको निर्मम समीक्षा गर्न आवश्यक देखिएको छ ।