आ बाट आमा २’ ले दर्शकको मन जित्ने कलाकारको विश्वास, दाङमा पत्रकार सम्मेलन

२ घण्टा अगाडि


दाङ असोज २४, चलचित्र ‘आ बाट आमा २’ दसैँको अवसर पारेर यही असोज ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा दाङमा कलाकार तथा निर्माण टिमसँग साक्षात्कार कार्यक्रम गरिएको छ ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरू विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य, रिस्ता गुरुङलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गायक बाबुल गिरी र गंगा सोनाम पनि सहभागी थिए ।

पत्रकार सम्मेलनमा कलाकारहरूले चलचित्रको कथावस्तु, अभिनय अनुभव र दर्शकको अपेक्षाबारे चर्चा गरेका थिए । पारिवारिक सम्बन्ध, प्रेम र सामाजिक परिवेशलाई मुख्य विषय बनाइएको चलचित्रले दर्शकको मन जित्ने निर्माण टिमको अपेक्षा छ ।

अभिनेत्री विपना थापाले पारिवारिक सम्बन्ध र आमाको महत्त्वलाई चलचित्रले विशेष रूपमा प्रस्तुत गर्ने बताइन्। परिवारभित्रको माया, त्याग र भावनात्मक सम्बन्ध चलचित्रका महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो।

त्यस्तै, अभिनेता पल शाहले चलचित्र पारिवारिक भावनासँग जोडिएको विषयमा आधारित रहेको उल्लेख गर्दै दर्शकले यसमा आफ्नै जीवन र परिवारसँग सम्बन्धित कथा अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरे।

अभिनेता आकाश श्रेष्ठले पनि चलचित्रले प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई समेटेको बताउँदै दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक अनुभूति दिने अपेक्षा व्यक्त गरे।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन चन्द्र पन्तले गरेका हुन् प्रेम तथा सामाजिक र पारिवारिक कथामा आधारित चलचित्रले दसैँको अवसरमा दर्शकमाझ आफ्नो छुट्टै प्रभाव पार्ने अपेक्षा गरिएको छ ।