प्रचण्डले सकारात्मक जवाफ नदिएपछि चिढियो रास्वपा

माघ १७, २०७९


माघ १७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले मंगलबार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ ।

आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल थालेको एक नेताले जानकारी दिए । पार्टीको केन्द्रीय समिति बैठकबाट नै सभापतिलाई पुन: गृहमन्त्रीको रुपमा सरकारमा सहभागी गराइनुपर्छ भनेर निर्णय भएको हो । सोही अडानमा हामी कायम छौँ, ती नेताले भने । ती नेताका अनुसार पार्टीभित्र छलफलका आधारमा आवश्यक निर्णय लिइनेछ । उनका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ ।

सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पनि सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरुसँग छलफल गरिरहेका छन् । आज बिहानमात्रै पनि प्रधानमन्त्री प्रचण्डसँग सभापतिले छलफल गरेको बताउँदै उनले पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताए । पार्टीले गरेको निर्णय र पार्टीले बैठकपछि प्रेस मिट गरेर सार्वजनिक गरेको धारणा कायम छ, उनले भने, हामी सोहीअनुसार हुनुपर्छ भन्नेमा छौँ । उनले सत्ता साझेदार दललाई माग पुरा गर्नका लागि कुनै अल्टिमेटम भने नदिइएको उनको भनाइ छ ।