सत्ता गठबन्धन भत्काएर देउवासँग सहकार्यको मुडमा प्रधानमन्त्री प्रचण्ड

माघ १९, २०७९


माघ १९, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग सहकार्यको लागि मुड बनाएका छन् । सत्ता गठबन्धनमा गृहमन्त्रालयको विषयले खटपट सुरु हुँदा दाहाल भने अर्को गठबन्धन बनाएर अघि बढ्ने बाटोतर्फ छन् । पछिल्लो समय सत्ता गठबन्धनको घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाको कारण सांसद र मन्त्री पदबाट मुक्त भएका छन् ।

लामिछानेले अदालतको फैसलाबमोजिम पून: नागरिकता प्राप्त गरेका छन् । नागरिकता प्राप्तिसँगै लामिछानेले पून: गृहमन्त्रालयमा फर्कने कसरत गरेका थिए । तर, प्रधानमन्त्री दाहालले लामिछानेलाई गृहमन्त्रालय नदिने अडानमात्रै लिएनन्, उनी नेतृत्वको रास्वपालाई नै नदिने जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालसमक्ष लामिछानेले आफूलाई नै गृहमन्त्रीमा नियुक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब दिएका छन् ।

ओलीले खुलेरै लामिछानेलाई गृहमन्त्री नियुक्त गर्न भनेका छन् । ओली र लामिछानेबाट अस्वभाविक दबाब आएकै कारण प्रधानमन्त्री दाहाल भने अहिलेको गठबन्धन भत्काएर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् । पछिल्लो समय आफू बन्धनमा बाँधिएको महशुस गरेका दाहालले सहकार्यको लागि कांग्रेस नेतृत्वसमक्ष प्रस्ताव पठाईसकेको स्रोतको दाबी छ ।

ओलीले प्रचण्डले कांग्रेससँग सहकार्य गर्नसक्ने देखेर नै राज्यमन्त्री दिएपनि कांग्रेस सरकारमा आउने टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई समेत ध्यान दिएर प्रचण्डले कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपालाई साथमा लिएर अघि बढ्ने मुड बनाएका छन् । पछिल्लो समय ओलीसँग पनि उनले गरमागरम वार्तालाप गरेको बालुवाटार स्रोतको दाबी छ । लामिछानेले भने आजबाट आफ्नो मौनता तोड्ने घोषणा गरेका छन् । उनले सरकारमा रहने वा नरहनेबारे आजै निर्णय लिने बुझिएको छ ।