बिदाहरू धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

माघ २४, २०७९


माघ २४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा पुनर्विचार गर्न आवश्यक भएको बताएका छन् । कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रचण्डले धेरै सरकारी बिदा हुँदा सेवा प्रवाह प्रभावित भएकाले त्यसलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ । प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए ।

उनले भने, हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ । बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति समेत गठन गरिएको छ ।