समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्नुहोस् : मुख्यमन्त्री गिरी

माघ २४, २०७९


दाङ, माघ २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जोडिन जिल्ला समन्वय समितिलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश समितिको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, हामी समृद्ध प्रदेश निर्माणको अभियानमा जुटेका छौं । हाम्रो अभियानलाई सफल बनाउन तपाईँहरु लाग्नुहोस् । सबै मिलेर लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउनुपर्दछ ।

राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारको कार्यसम्पादन सुरु गरेको भन्दै मुख्यमन्त्री गिरीले पाँच वर्षभित्र प्रदेशबासीलाई व्यवस्थित राजधानी प्रदान गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो । राजधानीको निर्णय कार्यान्वयन गर्दै राप्ती उपत्यका देउखुरीबाट प्रदेश सरकारले कामकारबाही सुरु गरेको छ । हामी व्यवस्थित राजधानी निर्माणको अभियानमा छौं’ मुख्यमन्त्री गिरीले भन्नुभयो, प्रदेश सरकारको योजनालाई सफल बनाउने दायित्व तपाईँहरुको हो । जिल्ला समन्वय समितिको हो । समृद्ध प्रदेश निर्माणको जिम्मेवारी बहन गर्नतर्फ लाग्नुहोस् ।

संविधानले तीन तहका सरकारको व्यवस्था गरेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘तीन तहका सरकारको पुलकारुपमा जिल्ला समन्वय समितिले काम गर्नुपर्दछ । प्रदेश सरकार र स्थानीय तहका बीचमा समन्वय गराउन यहाँहरुको भूमिका महत्वपूर्ण रहन्छ । यहाँहरुको भूमिकाले नै प्रदेशको सफलता निर्धारण गर्छ भन्ने कुरालाई मनन गर्नुहोला । जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्नेतर्फ सरकार लागिपर्ने भन्दै मुख्यमन्त्री गिरीले कानुन निर्माणमा सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिलाई प्रयाप्त अधिकार नभएकोतर्फ हाम्रो ध्यानाकर्षण भएको छ । कानुन बनाउने जिम्मेवारी सरकारले पुरा गर्छ । यहाँहरुको विषयमा हामी गम्भिर छौं’ मुख्यमन्त्री गिरीले भन्नुभयो, जिल्ला समन्वय समितिसँगको आपसी छलफलबाट उपयुक्त कानुन निर्माण गर्छौं ।

स्थानीय स्रोत परिचालनमा जिल्ला समन्वय समितिको भूमिका रहने भन्दै मुख्यमन्त्री गिरीले वातावरणीय सन्तुलन नबिग्रने गरी स्रोतसाधनको परिचालन गर्न समितिलाई निर्देशन दिनुभयो । स्थानीय स्रोतसाधनको परिचालन गर्दा ध्यान पु¥याउनुपर्दछ । अर्थतन्त्र बलियो बनाउने माध्यम स्थानीय स्रोतसाधन पनि हुन् । विश्वका धेरै मुलुकहरु स्रोतसाधनको उचित प्रयोगबाटै समृद्ध बनेका छन् । हामीले उनीहरुबाट पाठ सिक्दै स्थानीय स्रोतसाधन परिचालनमा ध्यान दिनुपर्दछ’ मुख्यमन्त्री गिरीले भन्नुभयो, स्रोतसाधनको परिचालन गर्दा वातावरणीय सन्तुलनलाई कायम राख्नुपर्दछ । स्रोतसाधन परिचालनको नाममा कतै वातावरण बिगार्ने कार्य भइरहेको छ भने त्यसलाई रोक्नुपर्दछ । त्यसमा यहाँहरुको भूमिका रहन्छ ।