रिलिजका लागि किन डराइरहेको छ ‘परदेशी २’ ?

माघ २५, २०७९


फिल्म राम्रो छ भने प्रदर्शनका लागि विदाको खोजी गर्नै पर्दैन । यदि फिल्ममै दर्शक तान्न सक्ने गुण छैन भने दशैंको लामो विदामा रिलिज गरेर पनि केही फाइदा छैन । फिल्म ‘महापुरुष’ ले विना विदामा पनि राम्रो कमाई गर्‍यो । तर, दशैंको विदामा आएर पनि फिल्म ‘बाबरी’ले लगानी उठाउन सकेन । यसैले फिल्म प्रदर्शनका लागि राम्रो मिति होइन, स्तरीय फिल्म बनाउन आवश्यक छ ।

झन् नाम नै ब्रान्ड बनेको फिल्मलाई जुन मिति पनि दशैं हो । तर, फिल्म ‘परदेशी’को दोस्रो सिरिज रिलिजका लागि नै डराइरहेको छ । यसपालिको दशैंमा फिल्म प्रदर्शनको तयारीमा थियो । तर, ‘प्रेमगीत ३’ र ‘पोन्निन सेल्वान’ को डरले ‘परदेशी २’ ले खुट्टा कमायो र फागुन ५ मा सर्‍यो । तर, यो मितिमा ‘कबड्डी’ समुहको फिल्म ‘फूलबारी’ आउने भएपछि ‘परदेशी २’ पुनः पोस्टपोन्ड भएको छ ।

स्रोतका अनुसार, निर्माताले अब आगामी दशैंमा फिल्म रिलिज गर्ने मनसाय बनाएका छन् । तर, आगामी दशैंका लागि अहिलेदेखि नै फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप चलिरहेको छ । यसरी हेर्दा ‘परदेशी २’ को प्रदर्शन आगामी दशैंमा पनि मुश्किल देखिन्छ । निर्मातालाई आफ्नो फिल्मप्रति नै विश्वास नभएको हो या लामो विदामा एकल रिलिज पर्खेर बसेका हुन्, बुझ्न गाह्रो छ ।

‘परदेशी २’ समयमा रिलिज नहुँदा गायकबाट नायक बनेका प्रकाश सपूतले आफ्नो काम देखाउन पाएका छैनन् । जसका कारण अफर आएका कयैन् फिल्म उनले नकार्दै बसिरहेका छन् । किनकि, ‘परदेशी २’ प्रदर्शनमा नआएसम्म उनले अरु फिल्ममा काम गर्न नपाउने सर्त छ । तर, निर्माताले फिल्म चलाउन हिम्मत नगर्दा फिल्म कम्प्यूटरको हार्डडिक्समै पुरानो हुने खतरा बढेको छ ।