मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो

फागुन १०, २०७९


फागुन १०, मेन्छियाम हाइड्रोपावरको आइपिओ आज बुधबार देखि निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो ।

सो मध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अथौत् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता आइपिओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लागि निष्कासन गरेको हो ।

दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ । सो अवधिसम्म आइपिओमा पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।