फागुन २१ गतेदेखि इङवा हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

फागुन १४, २०७९


फागुन १४, इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं. २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर जारी गर्न लागेको हो । त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको कम्पनीले बताएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आइपिओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले भने चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेको नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअरु रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।