अनमोल वा प्रदीपको फिल्मबाट हुनसक्छ दीलिपकी छोरीको डेब्यू !

फागुन १४, २०७९


नेपाली फिल्म इन्डस्ट्री अब कुनै ‘स्टार किड्स’ को डेब्यूलाई लिएर अधैर्य छ भने त्यो सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या हुन् । फिल्ममा डेब्यू अगावै उनको सुन्दरतालाई लिएर भैरहेको चर्चा जति लोभलाग्दो छ, त्यसले उनको डेब्यूलाई लिएर दर्शकसँगै फिल्मकर्मीमा पनि चासो बढेको छ । केही फिल्मबाट दिव्यालाई अफर नपुगेको होइन तर उनले कुनैमा काम गर्ने मन देखाइनन् ।

अब भने दिव्या फिल्ममा अभिनय गर्नकै लागि अमेरिकाबाट नेपाल आउन लागेको विश्वस्त स्रोतले जानकारी दिएको छ । सानैमा आमा-बुबासँग अमेरिका गएकी उनले ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा मास्टर्स पूरा गरेर अहिले आइटी क्षेत्रमा काम गरिरहेकी छिन् । बाल्यकालदेखि नै फिल्ममा अभिनय गर्ने इच्छा पालेकी उनले फिल्म सम्बन्धी अध्ययन पनि गरिसकेको जानकारी प्राप्त छ ।

फिल्ममा काम गर्ने उद्देश्यले हर्स राइडिङ, डान्स समेत सिकिसकेकी दिव्या आगामी ६ र ७ महिनामा नेपाल आउने सम्भावना छ । र, उनको डेब्यूलाई लिएर दीलिप रायमाझीले केही मेकरसँग छलफल गरिरहेको बताइएको छ । छोरीको करिअरको सुरक्षित उडानका लागि अहिलेका दुई सुपरस्टार अनमोल केसी, प्रदीप खड्कामध्ये एकको फिल्मबाट डेब्यू गराउने उनको इच्छा छ ।

केही महिना अगाडि दीलिपकी श्रीमतीले छोरीको डेब्यूलाई लिएर प्रदीप अभिनीत एक सुपरहिट फिल्मका निर्मातासँग काठमाडौंमा भेट गरेकी थिइन् । ती निर्माता प्रदीप र दिव्यालाई लिएर फिल्म बनाउन सकारात्मक रहेको बुझिएको छ । त्यस्तै, दीलिपको भुवन केसीसँग हार्दिक सम्बन्ध रहेकाले अनमोलसँग डेब्यूको सम्भावना पनि उतिक्कै छ । दिव्याको अनमोल र प्रदीप दुवै ‘फेभरेट’ हुन् ।

शिवहरी पौडेलले आफ्नो डेब्यू निर्देशकिय फिल्म ‘लक्का जवान’बाट दिव्यालाई डेब्यू गराउन खोजेका थिए । फिल्मका निर्माता दीलिप स्वयं थिए । तर, दिव्याले अध्ययन नसकिएको भन्दै काम गर्न मानेकी थिइनन् । अब उनको डेब्यू अनमोल र प्रदीपमध्ये कसको फिल्मबाट हुन्छ, त्यो प्रतिक्षाको विषय बनेको छ । पिताको लिगेसी विरासत बोक्न उनलाई कम चुनौती भने हुने छैन ।