चैत २४ प्रदर्शन मिति घोषणा गर्दै, ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

फागुन २१, २०७९


आगामी चैत २४ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । पहिला आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा त्यस मितिमा ‘हेभीवेट’ भिडन्त हुने भएपछि निर्माण पक्षले फिल्मलाई एक हप्ता अगाडि सार्दै शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । जसमा जातीय विभेद अन्त्य गर्नका लागि बाबुराम पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।

महिलामाथि हुने बलात्कारको घटनालाई समेत प्रस्तुत गरिएको ट्रेलरमा बाबुराम पात्र विपिन कार्की अधिकारको लडाइँका लागि राजनीतिक पार्टी खडा गरेर चुनावी मैदानमा होमिएको छ । उसलाई रोक्न कसरी षड्यन्त्र र जालझेलको खेल हुन्छ भन्ने कथासार प्रस्ट्याइएको ट्रेलरमा संवाद, छायांकन र ब्याकग्राउन्ड स्कोरको काम राम्रो छ । विपिन र केकी अधिकारीको अभिनय बुलन्द छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको स्लोगन माया भन्दा ठूलो नै के छ र, राखिएको छ । यो २०७५ सालको हिट फिल्म ‘प्रसाद’मा समावेश गीतको एक अंश हो । सुदर्शन बस्नेत निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् । सुशिल पौडेलको लेखन रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतको पनि अभिनय छ ।

सुलभ थापा प्रोडक्सनले एसजी फिल्म्ससँग मिलेर निर्माण गरेको फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन् । ‘प्रसाद २ ’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने निर्देशक थापा बताउँछन् । फिल्मको वितरण विके फिल्म्सले गर्नेछ ।