न्यु सीपीसीको अध्यक्षमा नवराज लामिछाने चयन

चैत १२, २०७९


तुफानबाबु श्रेष्ठ, चैत्र १२, दाङ। नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सीपीसी) को अध्यक्षमा नवराज लामिछाने चयन हुनुभएको छ । संस्थाको २८ औँ वार्षिक साधारण सभाले लामिछानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा विजय केसी, महासचिवमा नानीमैया वली, कोषाध्यक्षमा सुशील धिताल, सहसचिवमा नारायण प्रसाद रेग्मी र वैधानिक परामर्शदातामा प्रदिप धिताल चयन हुनुभएको छ । यसैगरी कार्यसमिती सदस्यहरूमा तुफानबाबु श्रेष्ठ, शारदा चौधरी, शान्ति बिक, लहर आचार्य र प्रमिला तिवारी रहनु भएको छ ।

साथै संस्थाको संस्थापन समितिमा गणेश प्रेम श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरिएको थियो । जसको सदस्यमा कुमार शाह र नेत्रमणि लामिछाने रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष नवराज लामिछानेले विगत २८ वर्षदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले बाल श्रम तथा बाल संरक्षणको क्षेत्रमा थुप्रै उदाहरणिय काम गर्दै आएको बताउनु भयो । साथै उहाँले अब बालबालिकामा हुने कुपोषणका क्षेत्रमा काम गर्ने समेत बताउनु भयो ।

यस्तै संस्थाको स्थापनाकालदेखि संस्थाबाट सेवा प्राप्त गरेकी शान्ति बिक अहिले संस्थाको सदस्यमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले आफुलाई हुर्काएको संस्थामा आज यसरी कार्य समितीको सदस्य हुन पाउँदा धेरै खुशी लागेको भन्दै अब आफूले आफू जस्तै महिला तथा बालबालिकाहरूको लागि काम गर्ने समेत बताउनु भयो । कार्यक्रममा संस्थाका आजीवन सदस्य गणेश प्रेम श्रेष्ठ र सल्लाहकार बलदेव शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकी निवर्तमान अध्यक्ष निशा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन महासचिव नानीमैयाँ वलीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुशील धितालले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष विजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी महासचिव नानीमैयाँ वलीले गर्नुभएको थियो ।