लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

चैत २०, २०७९


दाङ २० चैत, लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ । प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली २०७९ नियम १२ को उपनियम ३ बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।

आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट लुम्बिनी प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन् ।

यता लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ । त्यहीबीच ५४ जना प्रदेशसभा सदस्यले कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमक्ष दाबी पेस गरेका छन् ।