संघीय निजामती ऐन छिट्टै संसदमा पेस गर्छौं : मन्त्री शर्मा

बैशाख ०४, २०८०


वैशाख ४, सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले ससदमा यथाशिघ्र ऐन पेस गर्ने बताएकी हुन् ।

उनले सरकारले सो ऐनलाई अत्यन्त प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको जानकारी गराइन् । मन्त्री शर्माले कर्मचारीहरुको सरूवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरिन् । उनले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्विकार गर्दै अव बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन् ।

विगतदेखि कर्मचारीहरुको सरुवा ठिक ढंगले हुन नसक्दा यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो । हामीले सो ऐन पास गर्दा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसमा सदनले विशेष ध्यान पु¥याउनेछ, उनले भनिन् । मन्त्री शर्माले कर्मचारीहरुको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरु छिटो छिटो सरुवा हुने समस्या समाधान हुने बताइन् ।