लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

भदौ २१, २०८०


भदौ २१, लुम्बिनी प्रदेश सभाको बैठक आज बिहीबार बस्दैछ । प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक लाई अगाडि बढाउने तयारी छ ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने कार्य सूची छ । यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर विज्ञ तथा सरोकारवालहरुसँग राय सुझाव संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो । सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सकिने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।